Politics · Geopolitics · Security · Economy Nepal · Free to Read

त्यो एउटा प्रश्नले मेरो आँखा खोलिदियो

 Amarapuri Rise  |  चैत ५ २०८२



 नेपालमाथि दशकौँदेखि भइरहेको विदेशी खेलको कथा, एउटा कक्षाकोठाको सम्झनाबाट

लेखक: सुनिल पौडेल 

सन् २००८ को कुरा हो। मेरा सामाजिक तथा नैतिक शिक्षाका गुरु श्याम सुन्दर लामिछाने ज्यूले एक दिन कक्षामा मलाई सोध्नुभयो — "धर्म निरपेक्षता भनेको के हो? र यो राम्रो हो कि नराम्रो?"

त्यस बेला मलाई उत्तर आएन। चुप लागेँ। घर फर्किएपछि अलिकति सोचेँ — मुस्लिमको रमजानमा सरकारी बिदा पाइन्छ। क्रिसमस भन्नेपनी थाहा थियो, सायद पौस १५ तिर पर्ने भएकाले होला बिदा को त्यती ख्याल रहेन। "सबै धर्म बराबर" — यो त राम्रै लाग्यो। बिस्तारै त्यो प्रश्न दिमागबाट गायब भयो।

तर सन् २००९ पछि जब "धर्म निरपेक्षता" भन्ने शब्दले राजनीतिक रंग लियो, तब मलाई त्यो पुरानो कक्षाकोठाको प्रश्न याद आयो। र बिस्तारै बुझ्न थालेँ — त्यो प्रश्न संयोगले सोधिएको थिएन।

"एउटा सामान्य प्रश्नले कहिलेकाहीँ एउटा पूरै जालको ढोका खोलिदिन्छ। मलाई पनि त्यही भयो।"


पहिला म सानो भुमीका बाध्छु

मेरो दाइसँग उमेरमा जम्मा दुई वर्षको फरक छ। तर उनको बर्तबन्द सानै उमेरमा भएकाले मैले उनले गर्ने क्रियाकलाप हेर्थेँ मात्र — बुझ्दिनथेँ। जस्तै: भात खादा भागा बस्ने, शौचालयबाट निस्किएपछि पुरानो लुगा फेरेर सफा लाउने।

दाइलाई सोध्न झिझक लाग्थ्यो। अनि मामाघरतिर ठुलो ममीको छोरा(दाइ)— जो विज्ञान विषयमा  एकदम तेज विद्यार्थी थिए र मेरा दाइसँग उमेर उस्तै थियो — उनीसँग सोधेँ।

उनले बताउनुभयो: भात खादा पानीको घेरा लगाउनु भनेको धुलो नउडोस् भनेर। भत छेउमा राख्नु भनेको कीरा–कमिला खानामा नआओस् भनेर, पितृलाई दिने अर्थमा होइन। शौचालय प्रयोगपछि सफा लुगा लाउनु भनेको त्यहाँका हानिकारक ब्याक्टेरिया घरभर नफैलियोस् — झाडापखाला, ज्वरो जस्ता रोग नलागोस् भनेर।

मलाई एकदम अचम्म लाग्यो। हाम्रा हजुरबाबा–हजुरआमा, बाबा–आमा, काका–काकीले गर्दै आएका कुरा — जसलाई हामी "पुरानो चलन" भन्थ्यौँ — ती सब विज्ञानले नै प्रमाणित गरिसकेका रहेछन्।

घर भित्र हात काटिए मम्मीले कहिले बेसार, कहिले चिनी लगाउनुहुन्थ्यो। घर बाहिर काटिए गन्दे को झार मिचेर लगाउनुहुन्थ्यो। पछि थाहा पाएँ — बेसार र चिनीले रगत जम्न मद्दत गर्दो रहेछ। आधुनिक विज्ञानले पनि यो स्वीकार गरिसकेको छ।

"हाम्रा पुर्खाले गर्दै आएका कुरालाई "अन्धविश्वास" भन्न सिकाइयो। तर त्यो अन्धविश्वास थिएन — शताब्दीयौँको अनुभवबाट आएको ज्ञान थियो।"

अब प्रश्न उठ्छ — यो सदियौँदेखि चल्दै आएको ज्ञानलाई "पछौटे" र "अवैज्ञानिक" भनेर ब्रान्ड गर्ने खेल कसले खेल्यो? र किन? यसको जवाफ बुझ्न हामीले अलि पछाडि फर्कनु पर्छ।


सन् १९९०: जब खेल सुरु भयो

बहुदलीय लोकतन्त्र आउँदा सबैले खुसी मनाए। स्वतन्त्रता आयो, आवाज उठाउने अधिकार मिल्यो — यो साँचो हो। तर यसैसँगै भित्रभित्रै अर्कै धारा पनि बग्न थाल्यो।

राजाको पालामा विदेश जान कडाइ थियो भन्ने हामी सुन्छौँ। तर त्यसको कारण के थियो भनेर कमैले सोच्छन्। त्यस बेला सरकारी तलब सम्मानजनक थियो। उद्योग–कारखाना चलिरहेका थिए। देशमा रोजगारी थियो। "नेपालमा के छ र, विदेश जानु" भन्ने मनस्थिति थिएन।

सन् १९९० पछि के–के भयो, एकपल्ट हेरौँ:

  • एकपछि अर्को सरकारी उद्योग–कारखाना बन्द हुन थाले
  • विदेशी गैरसरकारी संस्था (NGO) हरूको नेपालमा प्रवेश ह्वात्तै बढ्यो
  • नेपाली मुद्राको मूल्य बिस्तारै घट्दै गयो
  • "देशमा भविष्य छैन" भन्ने भावना बिस्तारै मानिसमा घुस्न थाल्यो

यी सबै संयोग हुन्? वा कुनै योजनाको हिस्सा?

सोच्नुस् — पहिले अर्थतन्त्र कमजोर पार, रोजगारी सिध्याउ, मुद्राको मूल्य घटाउ। त्यसपछि मानिसहरू आफैं विदेश जाने बाटो खोज्न थाल्छन्। यसमा कसैले जबर्जस्ती गर्नु नै पर्दैन।


सन् २००७: विदेश पठाउने ढोका खुल्यो

सन् २०४६ पछि बहुदल आयो। सन् २०६३–६४ (२००७) मा वैदेशिक रोजगारलाई झनै सहज बनाइयो। सतहमा यो जनताको हितमा देखियो — "हाम्रा दाजुभाइ विदेशमा पैसा कमाउन सक्छन्" भन्ने भावना आयो।

तर नतिजा के भयो?

  • नेपालका जवान, दक्ष र परिश्रमी युवाहरू विदेशको सस्तो श्रमबजारमा बिकिन थाले
  • गाउँघरमा बूढाबुढी र बालबालिका मात्र बाँकी रहन थाले
  • देशको अर्थतन्त्र रेमिट्यान्समाथि निर्भर हुँदै गयो
  • स्वदेशी उत्पादन सुस्तियो, बजारमा विदेशी सामान हावी भयो

एउटा कुरा बुझौँ — रेमिट्यान्सले घर चल्छ, तर देश बन्दैन। जब देशका दक्ष मानिसहरू नै छैनन् भने कारखाना कसले चलाउने? खेत कसले जोत्ने? नयाँ कुरा कसले बनाउने?

"विदेशमा गएर कमाएको पैसाले विदेशकै सामान किन्नु भनेको — आफ्नो मिहिनेत अर्कैलाई दिनु हो।"

यो चक्रबाट निस्कन नेपाललाई अझै कति दशक लाग्ला?


त्यो कक्षाकोठाको प्रश्नतिर फर्कौँ

अब फेरि सन् २००८ मा फर्कौँ। "धर्म निरपेक्षता राम्रो हो कि नराम्रो?"

सन् २००९ पछि यो शब्दले राजनीतिक रंग लिन थालेपछि मैले बुझेँ — यो प्रश्न कक्षाकोठामा किन आएको थियो। विद्यालय तहदेखि नै बालबालिकाको मनमा एउटा विचार बिस्तारै बसाल्ने प्रयास भइरहेको थियो।

नेपाल विश्वकै एकमात्र हिन्दू राष्ट्र थियो। यो एउटा पहिचान थियो — हिन्दू मात्र होइन, बौद्ध, किरात, सबैलाई जोड्ने साझा सांस्कृतिक जरा। यो जरा कमजोर हुन्छ भने नेपाली एकताको धागो नै कमजोर हुन्छ।

"सबै धर्म बराबर हो" — यो कुरा सत्य हो र राम्रो पनि हो। तर यसलाई हतियार बनाएर देशको सांस्कृतिक जग उखेल्न प्रयोग गरियो भने, त्यो भिन्दै कुरा हो।

प्रश्न गर्नुस् — यो "धर्म निरपेक्षता" को माग कहाँबाट आयो? नेपाली जनताबाट, कि बाहिरबाट?


GenZ आन्दोलन: नयाँ पुस्तामाथि उही पुरानो खेल

अहिले GenZ पुस्ताको आन्दोलन हेर्नुस् — र ध्यानले त्यसको ढाँचा हेर्नुस्।

जनताकै भोटबाट चुनिएका नेताहरूलाई "सबै भ्रष्ट, सबै बेकार" भनिन्छ। तर विकल्पमा कसलाई अगाडि ल्याइन्छ? बाहिरबाट तयार पारिएका अनुहारहरू। सोसल मिडियामा "क्रान्ति"को धूमधाम हुन्छ। युवाहरूलाई उकसाइन्छ — कहिले मार्न, कहिले मर्न। नेपाली एकापसमा लड्छन् — र यो खेलका सूत्रधार बाहिर बसेर हाँस्छन्।

तीनवटा प्रश्न छन् — जसको जवाफ हरेक नेपाली युवाले आफैंले खोज्नु पर्छ:

  • यो "क्रान्ति"को पैसा कहाँबाट आउँछ? कुन संस्था वा कुन देशको?
  • यसका नारा र सन्देश कसले बनाउँछन्?
  • यो आन्दोलनबाट अन्तमा फाइदा कसलाई हुन्छ — नेपाली जनतालाई, कि बाह्य शक्तिलाई?

अझ गम्भीर कुरा — GenAlpha, अर्थात् अहिले जन्मिरहेको र हुर्किरहेको पुस्तालाई भविष्यको "अस्त्र" बनाउने खेल सुरु भइसकेको छ। कार्टुन, गेम, सोसल मिडिया — यी सबैमार्फत बालबालिकाको मनमा विशेष विचार बिस्तारै घुसाइँदैछ। र यो "मनोरञ्जन"को आवरणमा आउँछ भएकाले सजिलै देखिँदैन।


३५ वर्षको खेल — एक नजरमा

यो सब संयोग होइन। यो एउटा चरणबद्ध खेल हो:

सन् १९९०:  राजनीतिक परिवर्तनको नाममा अर्थतन्त्र कमजोर पार्ने। उद्योग बन्द, NGO प्रवेश, मुद्रा अवमूल्यन।

सन् २०००–२०१०:  शिक्षामार्फत सांस्कृतिक पहिचान र आत्मगौरव कमजोर पार्ने। पाठ्यक्रममा वैचारिक बीउ रोप्ने।

सन् २००७:  वैदेशिक रोजगारको ढोका खोल्ने। दक्ष युवा विदेश पठाएर देश खाली गर्ने।

सन् २००९ पछि:  धर्म, जाति, क्षेत्रका नाममा नेपालीलाई आपसमा लडाउने। राजनीतिक विभाजन तीव्र बनाउने।

अहिले:  GenZ लाई हतियार र GenAlpha लाई भविष्यको "कठपुतली" बनाउने।



अब हामी के गर्ने?

यो लेख कसैलाई दोष दिन लेखिएको होइन। यो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई — सबैलाई — एउटा अनुरोध गर्दै लेखिएको छ:

जब कोही तपाईंलाई भन्छ "नेपालमा केही छैन, विदेश जाऊ" — एकपल्ट सोध्नुस्: यो कुरा कसले भन्दैछ? र यसले कसलाई फाइदा गर्छ?

जब कोही "क्रान्ति गर" भन्छ — सोध्नुस्: यसको पैसा र एजेन्डा कहाँबाट आउँछ?

जब कोही "तिम्रो संस्कृति र धर्म पुरानो छ" भन्छ — सोध्नुस्: यो कुरा कसको हितमा छ?

हाम्रा हजुरबुवाले शौचालयपछि लुगा फेर्नुहुन्थ्यो — यो अन्धविश्वास थिएन, ब्याक्टेरिया बुझ्ने ज्ञान थियो। हाम्री आमाले घाउमा बेसार लाउनुहुन्थ्यो — यो डर थिएन, रगत रोक्ने उपाय थियो। हाम्रो जरा यति गहिरो छ — बाहिरी हावाले उखेल्न सजिलो छैन, जबसम्म हामी आफैंले आफ्नो जराको मूल्य बुझ्छौँ।

सजग नेपाली = बलियो नेपाल

आफ्नो इतिहास पढ्नुस्। Pattern बुझ्नुस्। र आफ्नो छोराछोरी, भतिज–भतिजी, साथीभाइलाई पनि बुझाउनुस् — किनभने जसले आफ्नो अतीत बुझ्दैन, उसको भविष्य अरूले लेख्छन्।


यो ब्लग लेख सार्वजनिक सरोकारका लागि लेखिएको हो। स्रोत उल्लेख गरी सेयर गर्न स्वागत छ। 🇳🇵


No comments:

Post a Comment

The Three Way World

By Dhag Prasad Poudel WASHINGTON — Oct. 21, 2026 A U.S. deal to buy diesel from Russia, sweeping sanctions waivers for Moscow’s oil trad...